नेपालको विद्युत् निर्यात नयाँ उचाइमा, दैनिक १,१३० मेगावाट निर्यात
२०८२ भाद्र १३, शुक्रबार १०:२८
काठमाडौं, शुक्रबार भाद्र १३– नेपालले हालसम्मकै बढी विद्युत् निर्यात गर्दै ऊर्जा इतिहासमा नयाँ अध्याय कोरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार भारत र बंगलादेशलाई अहिले दैनिक १ हजार १ सय ३० मेगावाटभन्दा बढी विद्युत् आपूर्ति भइरहेको छ।
मन्त्री खड्काका अनुसार यो स्तरमा निर्यात निरन्तर कायम रह्यो भने नेपालले वार्षिक ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्नेछ। यस अवधिमा नेपालले करिब ९ अर्ब ९० करोड ६ लाख युनिट विद्युत् विदेशमा बिक्री गर्ने अनुमान गरिएको छ।
उहाँका अनुसार यो उपलब्धिले नेपाललाई ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर बनाउनेछ।
नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टिमका अनुसार वर्षायाममा जलविद्युत् उत्पादन उच्च बिन्दुमा पुगेकाले निर्यातको मात्रा बढेको हो। भारतले बढी माग गरेको र बंगलादेशसँग सम्झौता विस्तार हुँदै गएको कारण नेपाललाई ऊर्जा बजार विस्तार गर्ने अवसर थपिएको छ।
विशेषज्ञहरू भन्छन् – यो केवल आर्थिक लाभ मात्र नभई, क्षेत्रीय ऊर्जा सुरक्षाको महत्वपूर्ण कदम हो। भविष्यमा नेपालले अझ बढी जलविद्युत् उत्पादनलाई बजारमा पुर्याउन सके दक्षिण एसियामै ऊर्जा केन्द्र बन्ने सम्भावना रहेको उनीहरूको विश्वास छ।
हालसम्मको तथ्याङ्क हेर्दा, नेपालले विद्युत् निर्यातबाट पाएको आम्दानी मुलुकको व्यापार घाटा कम गर्न, रोजगारी सिर्जना गर्न र लगानीमैत्री वातावरण बनाउन उपयोगी हुने देखिएको छ।




