विराटनगर भाद्र १७ । संघीय सरकारले साउन २६ गते कोशी प्रदेशमा पठाएको सचिव मिलन आचार्य झन्डै २० दिनदेखि जिम्मेवारीबिहीन अवस्थामा बसेका छन्। कारणले गर्दा मन्त्री र मुख्यमन्त्रीबीचको असमझदारी वढेकाे छन् ।

मुख्यमन्त्री कार्यालयले आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालय खटाउने निर्णय गरेको थियो। तर सो निर्णयलाई मन्त्रालयका जिम्मेवार मन्त्री भूपेन्द्र राई ले अस्वीकार गर्दै सचिवलाई हाजिर गर्न नमानेका हुन्।

प्रदेश सरकारको स्रोतका अनुसार प्राविधिक सचिवको दरबन्दी भौतिक पूर्वाधार मन्त्रालयमा मात्रै रिक्त छ। त्यसैले आचार्यलाई त्यहीँ पठाइएको थियो। तर मन्त्री राईले आफ्नो मन्त्रालयमा सचिव स्वीकार नगरेपछि उनी मुख्यमन्त्री कार्यालयमै ‘थन्किएका’ छन्।

संघीय सरकारबाटै सरुवा भएर आएका अर्का सचिव डा. यदुचन्द्र घिमिरे भने स्वास्थ्य मन्त्रालयमा पुगेर काम सुरु गरिसकेका छन्। संयोगवश, स्वास्थ्य मन्त्रालय पनि मन्त्री राईकै जिम्मामा छ। तर उनले आचार्यलाई भने प्रवेश नै नदिएका हुन्।

यस घटनाले प्रदेश सरकारभित्रै सत्ता–समन्वयमा गम्भीर प्रश्न उठाएको छ। मन्त्रीले मुख्यमन्त्रीको निर्णयलाई खुलेआम अस्वीकार गर्नु सरकारको सामूहिक नेतृत्वमाथिको चुनौतीका रूपमा हेरिएको छ।