काठमाण्डू–तराई द्रुतमार्ग : महादेवटार सुरुङ अवरुद्ध, ठेक्का तोड्ने चेतावनी
२०८२ भाद्र १८, बुधबार ०९:०१
काठमाडौं, भदौ १८ – राष्ट्रिय गौरवको आयोजना मानिएको काठमाण्डू–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गतको महादेवटार सुरुङ लामो समयदेखि अवरुद्ध भएपछि रक्षा मन्त्री मानबहादुर राईले ठेक्का तोडिन सक्ने चेतावनी दिएका छन्
साढे तीन किलोमिटर लामो सो सुरुङ निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कोर्पोरेसन लिमिटेडलाई दिइएको थियो। करिब २.१ किलोमिटरसम्म काम अगाडि बढेपनि अघिल्लो वर्षदेखि निर्माण पूर्णरूपमा रोकिएको छ।
रक्षा मन्त्री राईले भने, “काम रोकियो, धेरै ढिलो गर्यो भने भोली ठेक्का रद्द हुन्छ र अर्को ठेक्का आह्वान हुन्छ।”
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार महादेवटार सुरुङमा प्राविधिक चुनौती र भूगर्भीय समस्याका कारण अवरोध भएको हो। असोज १० देखि १२ गतेसम्म आएको बाढीले समेत काममा असर पारेको उनले बताए।
उनका अनुसार “सम्बद्ध कम्पनीसँग निरन्तर छलफल भइरहेको छ र निकट भविष्यमा काम पुनः सुरु हुने अपेक्षा गरिएको छ।”
द्रुतमार्ग ७१ किलोमिटर लामो छ, जसमा ८९ वटा पुल र ७ वटा सुरुङ बन्नेछन्।हाल करिब ६५ किलोमिटर खण्डमा सडक निर्माण भइरहेको छ।परियोजनाको भौतिक प्रगति ४२.८३% र वित्तीय प्रगति ४४% पुगेको छ।८९ पुलमध्ये ५१ पुलको जग हालिसकिएको छ भने करिब ५ किलोमिटर सडक कालोपत्रे भएको छ।अझै केही स्थानमा जग्गा अधिग्रहणको प्रक्रिया बाँकी छ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार हाल द्रुतमार्गको लागत २ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। पहिलो प्याकेज अन्तर्गत चिनियाँ कम्पनीले महादेवटार सुरुङ, ४ वटा पुल र ७०० मिटर सडकका लागि मात्र २१ अर्ब ६१ करोड रुपैयाँ बराबरको ठेक्का पाएको छ
द्रुतमार्ग २०८३ साल चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर हालको सुस्त गतिलाई ध्यानमा राख्दा निर्धारित समयमै परियोजना पूरा हुनेबारे संशय उत्पन्न भइरहेको छ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा द्रुतमार्गलाई “देशको दिगो आर्थिक विकासको ढोका” भनिएको छ। तर महादेवटार सुरुङ जस्तो महत्त्वपूर्ण खण्ड लामो समय रोकिँदा सरकार, सेना र ठेकेदारबीचको समन्वय र पारदर्शितामा प्रश्न उठ्न थालेको देखिन्छ।




