संस्कृत शिक्षामा योगदान गर्ने पाणिनी संस्कृत विद्यालय सम्मानित
२०८२ भाद्र १८, बुधबार २०:३०
विराटनगर, भाद्र १८। संस्कृत शिक्षा र गुरुकुलीय परम्पराको संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको श्री पाणिनी संस्कृत विद्यालय, बरगाछी–विराटनगर लाई “श्री रामकिशन राठी धार्मिक सेवा पुरस्कार–२०८२” प्रदान गरिएको छ। सत्यनारायण मन्दिर, विराटनगरमा बुधबार आयोजित विशेष समारोहमा विद्यालयलाई नगद एकाउन्न हजार रुपैयाँसहित सम्मान गरिएको हो।
कार्यक्रमको अध्यक्षता सत्यनारायण मन्दिर समितिका कावा अध्यक्ष प्रदीप कुमार तोदीले गरेका थिए। प्रमुख अतिथि धर्मगुरु पं. भवानीशंकर निरौला रहनुभएको कार्यक्रममा पुरस्कार दाता परिवारका मुलचन्द्र राठी विशिष्ट अतिथि रहेका थिए। हिन्दू धर्मगुरु निरौलामार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो।
सो अवसरमा सामूहिक आरतीमार्फत धार्मिक चेतना फैलाउँदै आएको श्री परमार्थ सिंघीया आरती सेवा, विराटनगर–१ लाई पनि सोही एकाउन्न हजार पुरस्कार प्रदान गरिएको छ।
धार्मिक समाजसेवी देवेन्द्र अग्रवाल,पुरस्कार छनोट समिति संयोजक भिखमचन्द्र सरल, मोरङ व्यापार संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवाल, स्व. रामाकिसन राठीका छोरा मुलचन्द्र राठीलगायतले विचार व्यक्त गर्दै पुरस्कार रकम धार्मिक तथा शैक्षिक गतिविधिमा खर्चिने प्रतिबद्धता जनाए
उद्योगी चम्पालाल राठी, जितेन्द्र राठी, विद्यालयका उपाध्यक्ष पदम काफ्लेलगायतको उल्लेखनीय उपस्थिति रहेको समितिका सदस्य शिराेमणी भट्टराईले वताए ।
वि.सं. २०५५ सालमा पं. खगेश्वर न्यौपाने तथा समाजसेवीहरूको पहलमा स्थापना भएको पाणिनी संस्कृत विद्यालयले संस्कृत शिक्षासँगै आचरण र संस्कारमूलक शिक्षा प्रदान गर्दै आएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका वटुकलाई विद्यालयले निःशुल्क आवास, भोजन, वस्त्र र शिक्षा उपलब्ध गराउँदै आएको छ।
विद्यालयका अध्यक्ष कविराज न्यौपानेका अनुसार विद्यालयले कर्मकाण्डमा दक्षता हासिल गर्ने संस्कृत शिक्षा र संस्कारित नयाँ पुस्ता तयार गर्ने उद्देश्यका साथ निरन्तर सेवा दिँदै आएको छ।
मन्दिर परिवारले यस्ता पुरस्कार र सम्मानले हिन्दू धर्म, संस्कृत शिक्षा, संस्कृति र सामाजिक चेतनाको उन्नतिमा टेवा पुग्ने विश्वास व्यक्त गरेको सचिव राजकुमार कावराले वताए ।




