काठमाडौं, भाद्र २० – नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू अब प्रयोग गर्न नसकिने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र सर्वोच्च अदालतको आदेशपछि नेपाल टेलिकम र एनसेलले यस्ता प्लेटफर्महरू निष्क्रिय गरेका छन्।

टेलिकमले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “नेपालमा आधिकारिक सूचीकरण नगरी सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्न प्राधिकरणले निर्देशन दिएको छ। सोही अनुसार, हाललाई ती प्लेटफर्महरू निष्क्रिय गरिएको छ।”

यसअघि मन्त्रिपरिषद्को निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय आदेशअनुसार पनि टेलिकम र अन्य प्रदायकहरूलाई कदम चाल्न निर्देशन दिइएको थियो।

यस निर्णयसँगै नेपालमा कानुनी दर्ता नगरेका सामाजिक सञ्जालहरूले सेवा दिन पाउने छैनन्। अब सेवा निरन्तरता चाहने प्लेटफर्महरूले अनिवार्य रूपमा नेपालमा दर्ता प्रक्रियामा जानुपर्ने भएको छ।