देवराज इन्द्रको धूमधाम: राजधानीमा इन्द्रजात्रा पर्वले भरेको रंगीन माहोल
२०८२ भाद्र २१, शनिबार ०७:०२
काठमाडौं भाद्र २१–आज राजधानी उपत्यकामा वर्षा र सहकालका देवता देवराज इन्द्रको सम्मानमा मनाइने ऐतिहासिक इन्द्रजात्रा पर्व सुरु भएको छ। परम्परागत रूपमा भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं मात्र होइन, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत क्षेत्रमा पनि धूमधामले मनाइन्छ।
यो पर्वको प्रारम्भ भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर हुने गर्छ। ‘इन्द्रध्वजोत्थान’ भनिने यो अवसरमा लिङ्गोको फेदमा भैरवको विशेष पूजा हुन्छ। ऐतिहासिक रूपमा शत्रु पराजयपछि विजय मनाउने पर्वका रूपमा समेत इन्द्रजात्रा व्याख्या गरिन्छ।
जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार नाचदेखि पुलुकिसी (इन्द्रको ऐरावत हात्तीको प्रतीक) नाचले वातावरण रंगीन बनाइन्छ। यस्तै, भक्तजनले देवीदेवताको रथयात्रा अवलोकन गर्दै आठ दिनसम्म उत्सव मनाउने प्रचलन छ।
आजको मुख्य आकर्षण भने गद्दी बैठक, हनुमानढोका परिसरमा जीवित देवी कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा हो। विगतमा राजाबाट हेर्ने परम्परा रहेपनि अहिले राष्ट्रपतिबाट यो परम्परा निरन्तरता दिइँदै आएको छ।
यस पर्वसँगै अनन्त चतुर्दशीको पूजा पनि आजै सम्पन्न हुने परम्परा छ। भक्तजनले चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्दा वर्षभर शुभ हुने विश्वास गरिन्छ। श्रावण शुक्ल पूर्णिमामा कुनै कारणवश जनै मन्त्रण गर्न छुटेका ब्राह्मणहरूले आजै मन्त्रण गर्ने शास्त्रीय विधान छ।
यस्तै, उपत्यकाको पश्चिमस्थित दहचोकको इन्द्रदहमा पनि आज रातभर जाग्राम बस्ने र आइतबार भाद्र शुक्ल पूर्णिमाको दिन स्नान गरी मेला भर्ने परम्परा अनुसार भक्तजनको घुइँचो लाग्ने अपेक्षा गरिएको छ।
इन्द्रजात्रा यसरी काठमाडौं उपत्यकामा मात्र नभई सम्पूर्ण नेपाली संस्कृतिको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ।




