रातो चन्द्रमा : खग्रास चन्द्रग्रहणको अद्भुत दृश्य आज
२०८२ भाद्र २२, आईतवार ०७:५७
काठमाडौं, भाद्र २२ – आकाश आज रात फरक रंगले सजिँदै छ। भाद्र शुक्ल पूर्णिमाको चन्द्रमा आज सामान्य झैँ चाँदीजस्तो उज्यालो देखिँदैन।
पृथ्वी र सूर्यबीच परेर चन्द्रमाले पृथ्वीको गहिरो छायाँ ग्रहण गर्दा त्यो रातो रंगको बन्नेछ। यही क्षणलाई खगोलविद्हरूले खग्रास चन्द्रग्रहण भन्छन्, र आम भाषामा यसलाई ‘ब्लड मुन’ भनेर चिनिन्छ।चन्द्रग्रहणको सुरुवात बेलुकी ७:०१ बजेतिर हुनेछ।
त्यसपछि विस्तारै चन्द्रमा पृथ्वीको छायाँमा हराउँदै जाँदा त्यसले आफ्नो उज्यालो हराउँछ, तर पूर्ण रूपमा अन्धकारमा हराएन। बरु, वायुमण्डलबाट अपवर्तित सूर्यको किरनले त्यसलाई गाढा रातो रङको सजाउँछ। यही वैज्ञानिक चमत्कारले पूर्णिमाको चन्द्रमा आज रात लालिमा छरिने बनाउँछ।
नेपालका अधिकांश स्थानबाट यो दृश्य देख्न सकिने खगोलविद्हरू बताउँछन्। मौसम खुलेको भए आकाशतिर एकपल्ट हेर्ने जोकोहीलाई पनि यो खगोलीय अद्भुतता अनुभव गर्ने अवसर हुनेछ।
धार्मिक आस्थाले हेर्नेहरूका लागि ग्रहण भने आन्तरिक शुद्धिको समय हो। परम्पराअनुसार ग्रहणको अवधिमा स्नान, ध्यान, जप र दान गर्ने परम्परा छ। आज मन्दिर, तीर्थ र घर-घरमा ग्रहणसँगै पूजा-अर्चना गर्ने चलन रहिआएको छ।
एकातिर खगोल विज्ञानले बुझाउने वैज्ञानिक रहस्य छ भने अर्कोतिर आस्थाले दिएको आध्यात्मिक गहिराइ। यही संगमले खग्रास चन्द्रग्रहणलाई केवल आकाशीय घटना नभई सांस्कृतिक र भावनात्मक अनुभव बनाइदिन्छ।
आजको रात, जब पूर्णिमाको उज्यालो चन्द्रमा रक्तिम आवरणमा रूपान्तरण हुन्छ, त्यो दृश्य केवल आँखाले हेर्ने मात्र होइन, आत्माले महसुस गर्ने खगोलीय क्षण बन्नेछ।




