काठमाडौं भाद्र २२, दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले २०८२ सालका लागि आफ्नो वार्षिक सम्मान तथा पुरस्कार घोषणा गरेको छ।

 प्रतिष्ठानले साहित्य, बालसाहित्य, समाजसेवा र सिर्जनशील योगदानलाई लक्षित गर्दै यस वर्षका विजेताहरूको नाम सार्वजनिक गरेको हो।

प्रतिष्ठानको कार्यसमिति बैठकले ‘दैवज्ञ विशिष्ट स्रष्टा सम्मान’ नेपाली कवितामा उल्लेखनीय योगदान गरेका कवि रमेश खकुरेललाई प्रदान गर्ने निर्णय गरेको छ।
त्यस्तै, ‘दैवज्ञ साहित्य पुरस्कार’ नेपाली, संस्कृत र हिन्दी साहित्य सिर्जनामा सक्रिय पर्वतनिवासी नारायणप्रसाद उपाध्याय अर्याललाई दिने घोषणा गरिएको छ।

बालसाहित्यतर्फ ‘दैवज्ञ बालसाहित्य पुरस्कार’ काठमाडौंकी कल्पना प्रधानलाई प्रदान गरिने भएको छ।
समाजसेवामा उल्लेखनीय कामको कदरस्वरूप धरान–१४, विजयपुर, पञ्चकन्या मार्गस्थित संस्कृत विद्यासंवद्र्धिनी समितिलाई ‘दैवज्ञ समाजसेवा पुरस्कार’ दिने प्रतिष्ठानले जनाएको छ।

पुरस्कारमा ३३ हजार ३३३ रुपैयाँ र सम्मानमा ५५ हजार ५५५ रुपैयाँ नगद प्रदान गरिनेछ।
यी सम्मान तथा पुरस्कारहरू आउँदो मंसिर २९ गते, प्रा. दैवज्ञराज न्यौपानेको स्मृति दिवसको अवसरमा औपचारिक रूपमा हस्तान्तरण गरिने कार्यक्रम तय भएको छ।