काठमाडौं भाद्र २४, देशभर फैलिएको असन्तोष अहिले चरम उचाइमा पुगेको छ। सरकारविरुद्धको आन्दोलन सडक प्रदर्शन मात्र नभई नेताहरुका निजी सम्पत्ति र पार्टी कार्यालयसम्म धकेलिँदा राजनीतिक संकट गहिरिँदै गएको स्पष्ट संकेत दिएको छ।

राजनीतिक विश्लेषकहरूको बुझाइमा, यो आन्दोलन केवल असन्तुष्ट युवाको आकस्मिक प्रतिक्रिया होइन, बरु लामो समयदेखि थिचिएको असन्तोषको विस्फोट हो। यसपटक प्रदर्शनकारीहरूले लक्षित गरेका स्थानहरू — राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवासदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट निवास, शेरबहादुर देउवाको बुढानीलकण्ठ घर, पुष्पकमल दाहालको खुमलटार निवासदेखि मन्त्रीहरूको व्यक्तिगत घरसम्म — प्रत्यक्ष सन्देश दिन्छन् कि जनतामा परम्परागत नेतृत्वमाथि विश्वास लगभग समाप्त प्रायः भइसकेको छ।

संवेदनशील मानिएका यी ठेगानाहरूमा सुरक्षाकर्मीहरूको नियन्त्रण कमजोर देखिनु सरकारको नैतिक तथा प्रशासनिक क्षमतामाथिको प्रश्नचिन्ह हो। झन् परराष्ट्रमन्त्री आरजु देउवा, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, ऊर्जामन्त्री दीपक खड्का, कांग्रेस महामन्त्री गगन थापा र एमाले सचिव रघुविर महासेठजस्ता नेताहरुका निजी आवासमा आगजनी हुनु आन्दोलनको स्वरुप अब व्यक्तिगत दायरामा समेत प्रवेश गरिसकेको प्रमाण हो।

राजनीतिक रूपमा यो घटनाक्रम दुई तहमा व्याख्या गर्न सकिन्छः
१) राजनीतिक नेतृत्वप्रति आक्रोशको प्रत्यक्ष प्रदर्शन – जनता अब केवल पार्टी वा सरकारको नीतिविरुद्ध मात्र होइन, नेताको व्यक्तिगत जीवनशैली र हैसियतविरुद्ध पनि प्रश्न उठाइरहेका छन्।
 

२) सुरक्षात्मक र संस्थागत कमजोरीको खुलासा  संवेदनशील भनिएका क्षेत्रमै सुरक्षाकर्मी नियन्त्रण गुमाउनु सत्ता संरचनाको अस्थिरता र जनअविश्वासलाई अझै बल पुर्‍याएको छ।

विश्लेषकहरूले चेतावनी दिएका छन् कि आन्दोलनको यो रूप यदि तत्काल सम्बोधन भएन भने यो केवल सरकारको मात्र संकट नभई सम्पूर्ण राजनीतिक व्यवस्थामाथिको अविश्वासको रूपमा विकसित हुन सक्छ। अहिले नेताहरूलाई सुरक्षित स्थानमा सारिँदै गरेको घटनाले नेतृत्व र जनता बीचको दूरी अझै बढाउने निश्चित छ।

 यो परिस्थितिले प्रश्न खडा गरेको छ:
– के वर्तमान राजनीतिक नेतृत्वले जनआक्रोश बुझ्ने क्षमता राख्छ?
– कि अब आन्दोलनले व्यवस्थागत परिवर्तनको बाटो खोल्छ?