मधेस प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा
२०८२ भाद्र २४, मंगलवार १३:५३
जनकपुरधाम भाद्र २४ , मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएका छन्। उनले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनअनुसार सोमबार राजीनामा बुझाएका हुन्।
जेन–जी पुस्ताले देशभर थालेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान गएको घटनालाई सिंहले आफ्नो निर्णयको मूल कारण बताएका छन्। “नागरिकको ज्यानभन्दा ठूलो अरु केही हुँदैन,” भन्दै उनले आत्मसम्मानका साथ पद छाडेको स्पष्ट पारे।
सिंहले विज्ञप्तिमा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले भने, “मत र विश्वासद्वारा निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरो जीवनकै ठूलो गौरव थियो। तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको अवस्थाले मलाई बाध्य बनायो।”
राजीनामा सन्देशमा उनले शान्तिपूर्ण आन्दोलनलाई संविधानले दिएको अधिकारका रुपमा सम्मान गर्ने प्रतिवद्धता दोहोर्याएका छन्। साथै समस्या समाधानको बाटो संवाद र आपसी समझदारीमै सीमित रहने विश्वास पनि व्यक्त गरेका छन्।
मुख्यमन्त्री पदको कार्यकालमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै उनले विशेष धन्यवाद जनमत पार्टीका अध्यक्ष डा. सीके राउत तथा पार्टीका नेताहरुप्रति प्रकट गरेका छन्।
सन्देशको अन्त्यमा उनले “जय मधेश” भन्दै राजीनामा औपचारिक घोषणा गरेका छन्।




