जेनजी आन्दोलनमा ज्यान गुमाएका आँसु झार्दै श्रद्धाञ्जली
२०८२ भाद्र २६, बिहीबार २०:२१
काठमाडौँ, भाद्र २६ – जेनजी आन्दोलनमा ज्यान गुमाएका निस्कपट युवाको सम्झनामा त्रिवि शिक्षण अस्पताल परिसर आज अश्रुपूर्ण बन्यो।
मृतकका आफन्त र साथीहरूले हातमा मैनबत्ती लिएर आँसु झार्दै श्रद्धाञ्जली अर्पण गर्दा वातावरण नै शोकमग्न बन्यो।
“हाम्रो सपना अधुरै रह्यो” भन्दै रुँदै गरेका आमा–बुबा, सखासाथी र परिवारजनको पीडा शब्दमा उतार्न कठिन देखिन्थ्यो।
स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म ३४ जना युवाले ज्यान गुमाइसकेका छन्। आन्दोलनमा घाइते भएका १ हजार ३६८ मध्ये ३२१ जना अझै अस्पतालमा जीवन–मरणको संघर्ष गरिरहेका छन्।
देशको भविष्य बोकेका तिनै छोराछोरीको सम्झनामा आज मैनबत्तीको उज्यालोले केवल प्रकाश मात्र होइन, आँसु र अपूरणीय पीडाको कथा पनि सुनाइरहेको थियो।




