काठमाडौं भाद्र २७ , देश उथलपुथलबीच शीतल निवासमा मध्यरातसम्म संवैधानिक निकासको खोजी चल्यो। आन्दोलनकारी जेन–जी पुस्ताको दबाबमा राष्ट्रपति रामचन्द्र पौडेल नयाँ विकल्पतर्फ मोडिएका छन्। 

उनी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार देखिएका छन्, तर संसद् विघटनको प्रश्नमा अझै अनिश्चितता छ।

राष्ट्रपति र कार्कीबीच भएको गोप्य वार्तामा संविधानकै व्याख्यामा मतभेद देखियो। कार्कीले संसद् रहुञ्जेल गैरसांसदलाई प्रधानमन्त्री बनाउन नसकिने ठान्छिन्, त्यसैले पहिले संसद् विघटन अपरिहार्य भन्न्छिन्। तर राष्ट्रपति पौडेल संसद् जोगाएरै कार्कीलाई अघि सार्ने बाटो खोजिरहेका छन्।

बिहीबार राति संविधानविद्हरूसँग लामो छलफल भए पनि ठोस निचोड निकाल्न नसकिएको बताइन्छ। शीतल निवासको अगाडिको भाग जलिसकेको अवस्थामा पनि पछाडितर्फ बसेर संविधानविद्हरूले राष्ट्रपतिसँग बहस गरे। सहभागीहरूमध्ये भीमार्जुन आचार्य, विपीन अधिकारी, पूर्णमान शाक्य, चन्द्रकान्त ज्ञवाली, सूर्य ढुंगेल, ललितबहादुर बस्नेतलगायत थिए।

संविधानको धारा ६१(४) र ३०५ वरिपरि बहस केन्द्रित रह्यो। धारा ६१(४)ले राष्ट्रपतिको प्रमुख कर्तव्य संविधानको पालना र संरक्षण हो भन्छ। तर धारा ३०५, जुन असाधारण अवस्थामा प्रयोग गर्न सकिने भनिएको छ, अहिले उपयुक्त नहुने धेरैले सुझाए।

देशव्यापी आन्दोलनमा भदौ २३ र २४ गते मात्रै ३० भन्दा बढीको ज्यान गएको छ, हजारौँ घाइते भएका छन्। दोस्रो दिनकै घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। त्यसपछि जेन–जीहरूले दलका नेताहरूलाई अस्वीकार गर्दै सुशीला कार्कीको नाम अघि सारे। राष्ट्रपति पनि यही प्रस्तावतर्फ ढल्किएका छन्, तर संविधानिक बाटो स्पष्ट छैन।

यसबीच, देशको सुरक्षाको जिम्मा नेपाली सेनाले अन्य सुरक्षानीतिहरूसँग समन्वय गर्दै सम्हालिरहेको छ।
राष्ट्रपति पौडेल आज बिहान ९ बजेपछि संविधानविद्हरूसँग पुनः छलफलमा बस्दैछन्। निकास त्यहींबाट निस्कने अपेक्षा राखिएको छ।