जनकपुर भाद्र २८, मिथिलाको प्राचीन परम्परा र मातृत्वको अमर श्रद्धासँग जोडिएको जितिया पर्वले आज मिथिला क्षेत्रलाई रौनक बनाइदिएको छ। सन्तानको दीर्घायु, सुख–समृद्धि र साहसको कामनासहित आमाहरूले गर्ने यो कठोर व्रत भोलि आइतबार औपचारिक रूपमा सुरु हुँदैछ।

आज भने व्रतालु मिथिलानीहरू ‘ओगटन’ अर्थात् दर खाने तयारीमा व्यस्त छन्। दहीचिउरा, मिष्ठान्न र सात्विक परिकारसँगै घर–घरमा पूजाआजा र सामूहिक चहलपहलको वातावरण छ। चोखा नयाँ कपडा धारण गर्ने र अघिल्लो दिन रातभर निराहार बस्ने तयारी मिथिलानीहरूको जीवनशैलीसँग गहिरो रूपमा गाँसिएको छ।

हिन्दू मैथिल परम्पराअनुसार पितृपक्षको अष्टमी तिथिमा सुरु हुने यो पर्व नवमी पार गरेर सोमबार बिहान ७ बजेतिर विधिपूर्वक सम्पन्न गरिने पञ्चाङ्गका जानकारहरू बताउँछन्। सप्तमीमै नुहाएर सूर्यलाई तोरीको तेल र पिनाको अर्घ्य अर्पण गरी व्रत सङ्कल्प गर्ने परम्परा रहेको छ।

 त्यसपछि व्रतालुहरूले आमा, बज्यैदेखि सासू–आमाजूसम्म तीन पुस्ताभित्रका दिवङ्गत महिलाहरूलाई तर्पण दिई तिनकै आशीर्वादमा सन्तानको कल्याण कामना गरिन्छ।

पर्वको मूल आत्मा राजा जितवाहनसँग सम्बन्धित पुराणकथामा निहित छ। द्वापरयुगमा विधवा ब्राह्मणीका पाँच मृत पुत्रलाई आफ्नो तपशक्तिबाट जीवनदान दिएका जितवाहनलाई सम्झँदै आमाहरूले आफ्नो सन्तानमा त्यस्तै साहस र परोपकारको गुण स्थापित होस् भन्ने प्रार्थना गर्छन्।

मधेसभर जात–जाति समुदायले आ–आफ्नै शैलीमा मनाउने यो पर्वलाई थारू समुदायले अझ विशेष महत्त्व दिने गर्छ। भङ्गाहा–५ राजपुरकी व्रतालु हरिप्रिया कुशवाहाको शब्दमा, “जितिया व्रत भनेको आमाले आफ्नो सन्तानका लागि दिने अटल माया र कठोर तपस्याको प्रमाण हो।”

मिथिला क्षेत्रका गाउँ–गाउँमा भोलि बिहानदेखि निराहार बस्ने आमा–बहिनीहरूको श्रद्धा, सन्तानका मुखमा उज्यालो ल्याउने कामनासँगै जितिया पर्वले फेरि एकपटक मातृत्व र विश्वासको अद्भुत महत्त्व झल्काइदिएको छ।