काठमाडौं, भाद्र २८ –भाद्र २३ र २४ का घटनाले मुलुकलाई नयाँ दिशातर्फ धकेलेको अवस्थामा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीभित्र नवनिर्माणको अभियान सुरु गर्ने स्पष्ट संकेत दिएका छन्।

डा. कोइरालाले शनिबार सार्वजनिक गरेको राजनीतिक वक्तव्यमा “कोइराला निवासको खरानी बीजबाट नूतन कांग्रेसको निर्माण” गर्नुपर्ने आह्वान गरेका छन्।

 उनले कोइराला निवासलाई केवल ऐतिहासिक संरचना नभई लोकतान्त्रिक आन्दोलनको धरोहरको रुपमा परिभाषित गर्दै, त्यसको खरानीबाट नयाँ विचार र संगठन पुनर्जीवित गर्नुपर्ने बताए।

जेनजी आन्दोलन र कांग्रेसको चुक

जेनजी आन्दोलनलाई “युवा उर्जा र चेतनाको प्रस्फुटन” भनेर व्याख्या गर्दै कोइरालाले तत्कालीन सरकारले संयम गुमाएको स्वीकार गरे। तर आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्तिको लुटपाट, आगजनी र नेतामाथिको हातपातलाई “सभ्य समाजले किमार्थ स्वीकार्न नसक्ने अपराध” भनेका छन्।
उनले विशेष गरी कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको आक्रमणलाई “जघन्य अपराध” को संज्ञा दिए।

आत्मसमीक्षा र प्रायश्चित

“हामी आम नेपालीको अपेक्षाअनुसार खरो उत्रन सकेनौं होला, यसको लागि प्रायश्चित गर्नुपर्छ,” कोइरालाले भने। उनले पार्टीले विगतका चुकहरुलाई पछाडि छोडेर अब युवाको आकांक्षा र समाजको परिवर्तनको चाहनालाई आत्मसात् गर्नुपर्ने बताए।

नयाँ परिस्थितिमा कांग्रेस

उनका अनुसार जेनजी आन्दोलनले दुई ठूला दललाई सत्ताबाट बाहिर धकेलेपछि नेपाली समाज र युवाको चाहनासँग कांग्रेसको दृष्टिकोण मेल खाएन। अब भने कांग्रेसले नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउन जरुरी रहेको उनको भनाइ छ।
“सत्ताको केन्द्रमा को छ भन्ने होइन, जनताको केन्द्रमा को छ भन्ने सवाल उठिसकेको छ,” कोइरालाले जोड दिए।

नूतन कांग्रेसको अभियान

कोइरालाले दशैंलगत्तै देशव्यापी बहस र छलफल सुरु गर्ने घोषणा गरेका छन्। उनले कांग्रेसलाई “न दाजुको, न भाइको, कांग्रेस कांग्रेसजनकै” भन्ने नारासहित अघि बढाउनुपर्ने प्रस्ताव राखे।

ऐतिहासिक भावनात्मक जोड

विपी कोइरालाको पिताजी कृष्णप्रसाद कोइरालाले निर्माण गरेको विराटनगरस्थित कोइराला निवास भाद्र २४ मा जलेपछि कोइरालाले त्यसलाई “भौतिक रूपमा खरानी भए पनि लोकतान्त्रिक आन्दोलनको विचार र बीज अजन्मर” रहेको भन्दै भावनात्मक आव्हान गरे।
“कोइराला निवासको खरानी बीजबाट नूतन कांग्रेसको निर्माणमा जुटौं,” भन्ने उनको प्रतिज्ञा नयाँ राजनीतिक यात्राको उद्घोषको रूपमा व्याख्या गरिएको छ।

 डा. शेखर कोइरालाको वक्तव्य केवल भावनात्मक श्रद्धाञ्जलि मात्र होइन, कांग्रेसभित्र नेतृत्व, संगठन र वैचारिक नवीकरणको औपचारिक उद्घोष हो। जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक रिक्ततालाई अवसरका रूपमा लिँदै उनले कांग्रेसलाई फेरि मुलुकको राजनीतिक केन्द्रमा ल्याउने रणनीतिक सन्देश दिएका छन्।

 यो सन्देश कांग्रेसभित्र सशक्त सुधारवादी धार उदय भएको संकेतका रूपमा लिइएको छ।