प्रभु साहको माग : राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार समेत विघटन गरी नयाँ संविधान निर्माणतर्फ अघि बढ्नुपर्छ
२०८२ भाद्र २९, आईतवार ०७:४३
काठमाडौं भाद्र २९ , आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले अहिलेको राजनीतिक परिदृश्यलाई जनादेशको अपमान भन्दै सम्पूर्ण संरचना नै भंग गर्नुपर्ने माग अघि सारेका छन्। उनले राष्ट्रियसभा, प्रदेशसभा मात्र नभई स्थानीय सरकार पनि विघटन गरेर नयाँ संविधान निर्माणतर्फ अघि बढ्नुपर्ने धारणा राखेका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै साहले जेनजी आन्दोलनपछि पनि केवल सरकार परिवर्तनको सहमति जनतालाई धोका भएको टिप्पणी गरे। “जनताले विद्रोहमार्फत अस्वीकार गरिसकेको संसद र संविधानलाई पुनः आधार बनाउने कुरा जनादेशमाथि खेलवाड हो,” उनले भने।
उनले विगतका उदाहरण दिँदै २०४६ सालको अन्तरिम सरकारदेखि २०६३ को अन्तरिम संविधान र २०७० सालमा खिलराज आचार्यको प्रधानमन्त्री नियुक्ति समेत कुनै ठोस संवैधानिक प्रावधानमा आधारित नभएको उल्लेख गरे। “यदि आजको प्रक्रियालाई अलोकतान्त्रिक भन्नु छ भने, त्यस बेला कुन आधारमा त्यस्ता सरकार बने?” साहको प्रश्न थियो।
उनका अनुसार, वर्तमान संविधान र गठबन्धन दुवै अस्वीकार भइसकेकाले ‘संविधानको रटान गरेर बस्नुको अर्थ छैन’। उनले मुलुकलाई नयाँ बाटोमा लैजान सम्पूर्ण संरचनात्मक तह विघटन गरेर नयाँ संविधान निर्माणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए।




