काठमाडौं, भाद्र २९, नेपालका विभिन्न प्रदेशहरूमा मनसुन सक्रिय बन्दै गएको छ । अरब सागर र बंगालको खाडीबाट निरन्तर प्रवेश गरिरहेको जलवाष्पयुक्त वायुका कारण कोशी, मधेश र लुम्बिनी क्षेत्रमा व्यापक वर्षा भइरहेको छ।

गएरातिदेखि नै कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ। झापाको केचनामा मात्र पछिल्लो २४ घण्टामा १२४.८ मिलिमिटर वर्षा रेकर्ड भएको छ भने दमकमा ९२.८ मिलिमिटर र दिङ्गलामा ९४.६ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यस्तै उदयपुरको गाईघाटमा एक घण्टामै ५४.६ मिलिमिटर पानी परेको छ, जुन ‘भारी वर्षा’ को श्रेणीमा पर्छ। बाँकेको नौबस्ता, अर्घाखाँचीको सिद्धारा, रङ्सिङ, सिराहाको गोलबजार र रुपनीबजारसहितका ठाउँमा समेत अविरल वर्षा भइरहेको विभागले जनाएको छ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहे पनि यसको उत्तरतर्फ सर्ने सम्भावना छ। “यदि नेपालतर्फ सर्‍यो भने वर्षा गतिविधि अझै तीव्र हुनसक्छ,” उनले भनिन्।

कँडेलका अनुसार अहिले झापा र बाँके क्षेत्रमा लगातार तीन घण्टादेखि भारी वर्षा भइरहेको छ र पूर्वी तराईमा अझै बढी वर्षा हुने सम्भावना छ। उनले देशभर एकनासको वर्षा नभई क्षेत्रगत रूपमा ठूलो पानी पर्ने अवस्था देखिएको पनि बताइन्।

मौसमविद्हरूले आगामी दुई–तीन दिन अझै सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी तराई र भित्री मधेसका नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढ्ने भएकाले आवश्यक पूर्वतयारी गर्न सरोकारवालालाई सुझाइएको छ।

भारी वर्षाका कारण सडक तथा नदी–नाला प्रभावित हुने सम्भावना भएकाले यात्रा गर्दा सतर्क रहन अनुरोध गरिएको छ।