पहिलो महिला महान्यायाधिवक्ता : सविता भण्डारी बराल को हुन्?
२०८२ भाद्र २९, आईतवार १९:४२
काठमाडौं, २९ भाद्र नेपालको न्यायिक इतिहासमा पहिलोपटक महिला महान्यायाधिवक्ता नियुक्त भएकी छन्। प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेको पहिलो दिनमै वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा सिफारिस गरिन्, जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १५७ को उपधारा (२) बमोजिम अनुमोदन गरे।
नेपालमा २००९ सालमा महान्यायाधिवक्ताको पद स्थापना भएयता ३० पुरुषले यो जिम्मेवारी सम्हालेका छन्। तिनमध्ये प्रेमबहादुर विष्ट, मोतीकाजी स्थापित र रमेश बडालले दुई–दुईपटक नियुक्ति पाएका थिए। तर ७३ वर्षपछि मात्र पहिलो महिला यस पदमा पुगेकी हुन्।
यसअघि राजीनामा दिएका रमेश बडालको ठाउँमा बराललाई नियुक्त गरिएको हो।
बराल को हुन्
सविता भण्डारी बराल कानुन व्यवसायको पहिलो पुस्ताका अग्रज कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। उनी कानुनी क्षेत्रमा लामो अनुभवसहित राष्ट्रिय सूचना आयोगको आयुक्तको रूपमा समेत काम गरिसकेकी छिन्।
प्रधानमन्त्री कार्की पहिलो महिला प्रधानमन्त्री बनेको ऐतिहासिक क्षणमै बरालको नियुक्तिले नेपालमा कानुनी क्षेत्रमा महिलाको उच्चतम प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ अध्याय थपेको छ।




