बालुवाटारमा मध्यराति नाराबाजी : सुदन गुरुङ समूहद्वारा प्रधानमन्त्री कार्कीको राजीनामा माग
२०८२ भाद्र ३०, सोमबार ०८:२९
काठमाडौँ भाद्र ३० – प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध आक्रोशित सुदन गुरुङ समूहले आइतबार मध्यराति बालुवाटार अगाडि नाराबाजी गर्दै राजीनामाको माग गरेको छ। मन्त्री चयनप्रति असन्तुष्टि व्यक्त गर्दै समूहले ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ जस्ता नारासहित प्रदर्शन गरेको हो।
जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरुका परिवारजनसमेत सहभागी रहेको प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो।
प्रधानमन्त्री कार्कीले कानुनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृहमन्त्रीमा नियुक्त गरेको निर्णयलाई सुदन समूहले विशेष आपत्ति जनाएको छ।
विगत शुक्रबार सुदन समूहकै प्रस्तावमा प्रधानमन्त्री बनेकी कार्कीले आइतबार मन्त्रिपरिषद विस्तार गर्दै रामेश्वर खनाललाई अर्थमन्त्री र कुलमान घिसिङलाई ऊर्जा मन्त्री बनाएकी थिइन्।
यसैबीच, समूहभित्रै नयाँ राजनीतिक समीकरणबारे छलफल सुरु भएको बताइन्छ।




