पहिलो महिनामै ऐतिहासिक विप्रेषण वृद्धिः एक खर्ब ७७ अर्ब भित्रियो
२०८२ भाद्र ३१, मंगलवार ०८:३७
काठमाडौं भाद्र ३१, विदेशमा रहेका नेपालीले पठाएको विप्रेषण रकम चालु आर्थिक वर्षको पहिलो महिनामै ऐतिहासिक रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०८२/८३ को पहिलो महिनामा कुल एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ देशभित्र भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा पठाइएको रकम एक खर्ब ३६ अर्ब ६० करोड मात्र थियो। यस वर्ष २९ दशमलव ९ प्रतिशतले विप्रेषण बढेको बैंकले जनाएको छ। अमेरिकी डलरमा पनि यो वृद्धिदर उल्लेख्य छ — २५ प्रतिशतले बढ्दै कुल एक अर्ब २७ करोड डलरसम्म पुगेको छ।
यसै अवधिमा कुल खुद द्वितीय आय (नेट ट्रान्सफर) समेत बढेर एक खर्ब ९३ अर्ब ८५ करोडमा पुगेको छ। गत वर्ष यो एक खर्ब ४८ अर्ब ८ करोड मात्र थियो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या पनि उल्लेख्य छ। पहिलो महिनामा ४४ हजार ४६६ जनाले नयाँ स्वीकृति लिएका छन् भने २३ हजार ६४४ जनाले पुनः स्वीकृति लिएका छन्। गत वर्ष यो क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ मात्र थियो।
विशेषज्ञहरूका अनुसार विप्रेषण वृद्धिले नेपालको विदेशी मुद्रासञ्चयमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। तर, यसैसँगै रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यता अझै उच्च नै रहेकाले दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।




