काठमाडौँ, असोज १ , जेनजी युवाहरुको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलीस्वरूप आज मुलुकभर राष्ट्रिय शोक मनाइँदैछ । सरकारले असोज १ गतेलाई सार्वजनिक बिदा दिने घोषणा गरेअनुसार सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय, बैंक तथा विदेशस्थित नेपाली नियोगहरू आज बन्द छन् ।

भदौ २३ र २४ गते भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा कम्तीमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्झनामा भदौ ३० गते बसेको अन्तरिम मन्त्रिपरिषद बैठकले असोज १ गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको हो ।

शोक दिवसमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको छ । दिवंगत युवामध्ये केहीको शवयात्रा र अन्त्येष्टि मंगलबार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित सम्पन्न गरिएको थियो भने अरुकाे अन्त्येष्टि उनीहरूको आफ्नै जिल्लामा गरिएको थियो ।