पूर्णाङ्गिनी लोकार्पण : भारतका २२ भाषाका नारी कथाकारहरूको कथा नेपालीमा
२०८२ आश्विन १, बुधबार ०८:०९
दार्जिलिङ भारत , भारतका सबै मान्यताप्राप्त भाषाका नारी कथाकारहरूको कथा नेपालीमा अनुवाद गरिएको कथासङ्ग्रह “पूर्णाङ्गिनी” शनिबार एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।
चरित्र प्रोडक्सन र साहित्यकर्मी हिरा छेत्रीको पहलमा साकार भएको यस पुस्तकमा भारतका २२ वटा भाषाका महिला आख्यानकारका कथा समेटिएका छन्।
अंग्रेजीदेखि आसामी, उड़िया, उर्दू, कन्नड, कश्मीरी, कोङ्कणी, गुजराती, डोगरी, बङ्गाली, बोड़ो, तमिल, तेलुगू, पञ्जाबी, मणिपुरी, मराठी, मलयालम, मैथिली, राजस्थानी, सन्थाली, सिन्धी र हिन्दी भाषाका प्रतिष्ठित नारी लेखकका रचनाहरू यसमा समावेश छन्।
कथाकारमध्ये अचला बंसल, मञ्जुला हाजोरिका, संयुक्ता महान्ती, राफिया वाली, डा. वीणा शान्तेश्वर, शिवशङ्करी, सुरिन्दर नीर, सुनिता मोहिनानीलगायतका नाम उल्लेखनीय छन्।
यी रचनालाई नेपालीमा उतार्ने जिम्मेवारी २२ जना अनुवादकले सम्हालेका छन्। अनुवादक सूचीमा सुनिता दाहाल, तारा लोहार लेप्चा, लतिका जोशी, सृजना सुब्बा, डा. सरस्वती मिश्र, अनुपमा कट्टेल, उषा शर्मा, डा. शोभा लिम्बू लगायतको नाम रहेको छ।
लोकार्पण कार्यक्रममा साहित्यकार, लेखक, अनुवादक र साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले “पूर्णाङ्गिनी” भारतीय साहित्यका नारी स्वरलाई नेपाली भाषामा नजिक्याउने महत्वपूर्ण योगदान भएको बताएका थिए।
आयोजक हिरा छेत्री र उनको टोलीलाई कार्यक्रमका सहभागीहरूले दीर्घ परिश्रमको परिणाम स्वरूप नेपाली साहित्यमा नयाँ आयाम थपिदिएको भन्दै धन्यवाद ज्ञापन गरेका थिए।




