विश्वकर्मा पूजा आज देशभर मनाइँदै
२०८२ आश्विन १, बुधबार ०८:५२
काठमाडौं असाेज १, देशभरका कालीगढ, श्रमिक तथा उद्योग–धन्दामा संलग्न कामदारहरूले आज भगवान् विश्वकर्माको पूजा आराधना गर्दै वास्तु दिवस तथा विश्वकर्मा पूजा पर्व धूमधामका साथ मनाइरहेका छन्।
हरेक वर्ष कन्या संक्रान्तिका दिन यो पर्व मनाउने परम्परा अनुसार आज विभिन्न कलकारखाना, कार्यस्थल तथा निर्माण क्षेत्रमा विशेष सजावटसहित पूजापाठ आयोजना गरिएको छ। भगवान् विश्वकर्माको बालुवाको मूर्ति वा तस्बिर स्थापित गरी विधिपूर्वक पूजा गर्ने प्रचलन छ।
मजदुर तथा कामदारलाई सहभागी गराइ औजार, उपकरण तथा कार्यस्थलमा पूजा गर्ने चलन रहेको छ। विश्वास अनुसार यसरी पूजापाठ गर्दा औजार लामो समयसम्म टिक्ने, बिग्रने सम्भावना कम हुने र काममा सफलता तथा प्रगति प्राप्त हुने जनविश्वास रहिआएको छ।
विश्वकर्मा पूजा सम्पन्न भएपछि भगवान्को मूर्ति बालुवा वा अन्य सामग्रीबाट बनाई बागमतीको मुहान सुन्दरीजलसहित विभिन्न शुद्धस्थलमा लैजाई विसर्जन गर्ने परम्परा छ। यस वर्ष पनि बिहीबारदेखि मूर्ति विसर्जन गर्ने तयारी गरिएको छ।
यस अवसरमा उद्योग, कारखाना तथा विभिन्न प्राविधिक कार्यस्थलहरूमा आज दिनभर विशेष उत्सवको वातावरण देखिएको छ।




