विराटनगर असाेज २ ,नेपाल प्रहरीले हालै गरेको ठूलो सरुवामा मोरङको जिम्मेवारी एसपी कवित कटवाललाई दिइएको छ। प्रहरी संगठनभित्र सक्रिय, निडर र पेशागत दक्ष अधिकृतका रूपमा चिनिँदै आएका कटवाललाई मोरङ पठाइँदा जिल्लाको सुरक्षा संयन्त्र थप मजबुत हुने अपेक्षा गरिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेलगत्तै नेपाल प्रहरीको संरचनामा ठूलो सरुवा भएको छ। नेपाल प्रहरीका ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)हरूलाई विभिन्न जिल्लामा पठाइएको हो। मंगलबारै सरुवा निर्णय भए पनि सूची भने बुधबार मात्र सार्वजनिक गरिएको छ। प्रहरी प्रधान कार्यालयमार्फत जिम्मेवारी हस्तान्तरणको प्रक्रिया सुरु भइसकेको छ।

सूचीअनुसार कपिलवस्तुमा एसपी सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारु र पर्सामा सुदिपराज पाठक खटिएका छन्। त्यस्तै बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, सुनसरीमा केशव थेबे पुगेका छन्। 

भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरा जिम्मेवारी पाएका छन्।

नयाँ सरुवालाई गृह मन्त्रालयले ‘प्रभावकारी सुरक्षा व्यवस्थापन’ का लागि गरिएकाे बताएको छ। यस सरुवासँगै जिल्लास्तरीय सुरक्षा संयन्त्रमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।