ओली १० दिनपछि सार्वजनिक , डेरामा बसोबास गर्दै
२०८२ आश्विन २, बिहीबार २०:३४
काठमाडौं असाेज २,निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली करिब १० दिनपछि सार्वजनिक भएका छन् । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेका ओली बिहीबार सेनाको हेलिकप्टरमार्फत गुन्डु झरेका हुन् ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार ओलीका लागि गुन्डु क्षेत्रमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । “अध्यक्षज्यू गुन्डुमा बस्ने गरी आउनु भएको हो, उहाँका लागि अस्थायी व्यवस्थासमेत मिलाइएको छ,” ज्ञवालीले बताए ।
गुन्डु झरेपछि ओलीलाई स्थानीय नेता–कार्यकर्ताले स्वागत गरेका छन् । बसोबासको व्यवस्था एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको निवास नजिकै गरिएको बताइएको छ । अब उनी त्यहीँबाट पार्टी गतिविधिमा सक्रिय हुने तयारीमा छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा हुने औपचारिक कार्यक्रममा ओली सहभागी हुने सम्भावना रहेको छ । यसअघि महेश बस्नेतले ओलीलाई हजारौँ नेता–कार्यकर्तासहित भव्य स्वागत गरिने बताएका थिए ।




