यसपालिको हिले दशैंकाे सम्भावना
२०८२ आश्विन २, बिहीबार २०:५४
काठमाडौं असाेज २, जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन अपेक्षित समयभन्दा ढिलो अन्त्य हुने देखिएको छ । सामान्यतया सेप्टेम्बरको अन्त्यतिर नेपालबाट मनसुन बाहिरिने अनुमान गरिँदै आएको भए पनि पछिल्ला तथ्याङ्कले यसपटक दशैँसम्म पनि वर्षा सम्भावना कायमै रहने संकेत गरेका छन् ।
विभागकी प्रवक्ता विभूति पोखरेलले भनिन् “अहिलेसम्मको आकलनले देखाउँछ कि पछिल्लो अवधिमा वर्षा केही बढी भएको छ। हालको प्रवृत्ति हेर्दा दशैँसम्म पनि मनसुनको असर रहनेछ ।”
भारतको पश्चिमी भूभागमा मनसुन क्रमशः कमजोर हुँदै बाहिरिन थालेको भए पनि नेपालमा भने अझै केही साता कुर्नुपर्ने देखिएको छ । पोखरेलका अनुसार एउटै मौसमी प्रणाली भारत, बाङ्ग्लादेश र नेपालमा प्रभाव पार्छ, तर कतै निष्क्रिय हुँदै कतै सक्रिय रहँदा ‘हिलेदशैँ’ हुने सम्भावना पनि देखिन्छ ।
यो वर्ष जेठ १५ गते नै मनसुन प्रवेश गरेको थियो, जुन सामान्यतया औसत समयभन्दा केही चाँडो हो । प्रारम्भिक अनुमानअनुसार असोज १४ (सेप्टेम्बर ३०) मा मनसुन बाहिरिने प्रक्षेपण गरिएको थियो, जुन दिन यसपटक बडादशैँको अष्टमी पर्दछ । तर पछिल्लो अवस्था हेर्दा अझै ढिलाइ हुने देखिएको छ ।
गत वर्ष १० जुनमा प्रवेश गरेको मनसुन १२ अक्टोबरमा मात्रै अन्त्य भएको थियो । विभागका तथ्याङ्कअनुसार असोज २ गतेसम्म देशभर १,१२२.४ मिलिमिटर अर्थात् वार्षिक औसतको ८९.१ प्रतिशत वर्षा भइसकेको छ । यो १२६ वटा मापन केन्द्रको आधारमा गणना गरिएको हो ।
मौसमविद्हरूका अनुसार ९२ देखि ११० प्रतिशत पानी परेको अवस्था ‘सामान्य वर्षा’ मानिन्छ । अझै दुई साता मनसुन सक्रिय रहने आकलन हुँदा यो वर्ष पनि औसतकै हाराहारीमा वर्षा हुने सम्भावना प्रबल देखिएको छ ।




