चितवन असाेज ५, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझ ठूलो पहिरो खस्दा आवागमन पूर्ण रूपमा रोकिएको छ।

लगातार वर्षासँगै माटो खसिरहँदा करिब १०० मिटर सडक ढाकिँएपछि यातायात अवरुद्ध भएको हो।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर विभिन्न पटक पहिरो खसिरहेकाले तत्काल सडक खुलाउने सम्भव भएन। उनले भने, “अँध्यारोमा मेसिन परिचालन गर्न सकिँदैन, त्यसैले बिहान उज्यालो भएपछि मात्र काम सुरु गरिएको हो।”

वर्तमानमा दुवैतर्फबाट लोडर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको छ। यस्तै, सेती दोभान क्याम्पबाट एउटा स्काभेटर समेत घटनास्थल पठाइएको लामिछानेले जानकारी दिए।

सडक अबरुद्ध हुँदा यात्रु र सामान बोकेको सवारी साधन बीचमै अलपत्र परेको बताइएको छ। अधिकारीहरूले सम्भावित थप पहिरोको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक काम भइरहेको जनाएका छन्।