“कोइरालाको प्रतिबद्धता : जलेको निवासबाटै लोकतन्त्र पुनः उठ्छ”
२०८२ आश्विन ४, शनिबार १३:३३
विराटनगर असाेज ४, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासमा भएको आगजनी निरीक्षण गर्दै लोकतन्त्र पुनः त्यहीँबाट उठ्ने प्रतिज्ञा गरेका छन् ।
उनले संसद विघटन असंवैधानिक भए पनि देशलाई क्षतिबाट जोगाउन परिस्थितिजन्य ‘ड्यामेज कन्ट्रोल’ भएको बताए । अब सरकारको एक मात्र दायित्व निष्पक्ष निर्वाचन गराउनु रहेको भन्दै उनले भने, “अब चुनाव, चुनाव, चुनाव मात्रै।”
जेनजी आन्दोलनबारे कोइरालाले दल र सरकारको कमजोरी स्वीकार गर्दै मागहरूलाई समयमै सम्बोधन नगरेको गल्ती माने । उनले हिंसात्मक घटनाको निष्पक्ष छानबिन र युवाको वास्तविक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
कोइरालाले जलेको घरलाई व्यक्तिगत सम्पत्ति नभई लोकतान्त्रिक आन्दोलनको ऐतिहासिक धरोहर बताएका छन् । “यो घर जले पनि खरानीबाट फेरि उठ्छौं,” भन्दै उनले कांग्रेस कार्यकर्तालाई चुनाव तयारीमा जुट्न आह्वान गरे ।
नेतृत्व विवादमा अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने स्पष्ट गर्दै उनले अहिलेको प्राथमिकता देशलाई सही बाटोमा ल्याउनु र छ महिनाभित्रको निर्वाचन भएको बताए ।




