जनकपुरधाम, ५ असोज – पुराना दलहरूको असफलता र भ्रष्टाचारको सामना गर्दै नयाँ राजनीतिक विकल्प सार्वजनिक भएको छ। जनमत पार्टीबाट निस्किएका नेताहरुले असोज ३ र ४ गते जनकपुरधाममा सम्पन्न भेलापछि जनस्वराज पार्टीको औपचारिक घोषणा गरेका छन्।

पार्टीका संयोजक ई. दिपक साहले जनताको आकांक्षा र अधिकारमाथि पुराना दलहरूले निरन्तर तानाशाही ढंगले खेलबाड गरेको भन्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य तय गर्नुपर्ने बताएका छन्। उनले बैठकले पुराना दलहरू आत्मकेन्द्रित र विभाजनकारी मानसिकता बोकेको निष्कर्ष निकालेको जानकारी दिए।

पार्टीले आफ्नो गतिविधि अगाडि बढाउन डा. संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरेको छ।

 संयोजक साह पहिले जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष थिए भने यादव कोषाध्यक्षका रूपमा कार्यरत थिए। अन्य विभागहरू चाँडै गठन हुने संयोजकले बताएका छन्।

जनस्वराज पार्टीको मुख्य एजेन्डामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिक लगायत विपन्न वर्गको सशक्तीकरण र स्थानीय स्वायत्तता समावेश छ। साथै, कार्यकारी राष्ट्रपति प्रणालीलाई पनि पार्टीले आफ्नो प्राथमिकतामा राखेको छ

पार्टीले आफूलाई “जनताको सशक्तीकरणको नयाँ विकल्प” भनेर परिभाषित गर्दै आगामी निर्वाचन र राजनीतिक गतिविधिमा आफ्नो उपस्थितिलाई मजबुत बनाउने योजना बनाएको छ।