गोरखा, असोज ६ , गोरखा दरबार परिसरमा आज परम्परागत विधिअनुसार घटस्थापना सम्पन्न गरिएको छ।

 वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन दरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९:१३ मिनेटको शुभसाइतमा जमरा राखिएको हो।

गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईका अनुसार कैलास कोठाबाट देवी भगवतीलाई दरबारको गर्भगृहमा विराजमान गराएपछि जमरा राख्ने परम्परा छ। त्यसअघि कालिका मन्दिर परिसरमा देवीको पूजामा प्रयोग हुने भाँडावर्तन शुद्ध गर्ने र शैलपुत्री पूजाका लागि सामग्री तयार गर्ने कार्य गरिएको थियो।

परम्पराअनुसार गोरखा दरबारको दसैँघर र कालिका मन्दिरमा एक–एक पाथी जौँ, गोरखनाथ मन्दिरमा चार माना र उपल्लो तथा तल्लो कोटमा एक–एक माना जौँको जमरा राखिएको छ।

स्थानीय मान्यताअनुसार गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दू परिवारहरूले आफ्ना घरमा जमरा राख्ने प्रचलन छ। घटस्थापनासँगै कालिका मन्दिरमा नियमित बलि दिने परम्परा सुरु हुन्छ।

यसैबीच, गोरखाको मनकामना मन्दिरमा पनि आज बिहान शुभसाइतमा जमरा राखिएको मूलपुजारी इन्सान थापाले जानकारी दिएका छन्। विजयादशमीका दिन यिनै जमरा टीकासँगै प्रयोग गर्दा शुभ हुने विश्वास रहिआएको छ।