जुम्ला असाेज ७, कर्णाली प्रदेशको ऐतिहासिक चन्दननाथ–भैरवनाथ मन्दिरमा यस वर्षको नयाँ लिङ्गो ठड्याउने कार्य सम्पन्न भएको छ । सोमबार बिहान सदरमुकाम खलङ्गा बजारमा रहेको मन्दिर परिसरमा परम्परागत विधिअनुसार ५२ हात लामो लिङ्गो र ५२ हातको ध्वजा राखिएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

स्थानीय मान्यताअनुसार चन्दननाथ मन्दिरमा लिङ्गो ठड्याइएपछि मात्र जुम्लावासीले आफ्ना घरघरमा घटस्थापना गर्ने परम्परा छ । यसरी लिङ्गो फेर्ने संस्कारलाई दशैँको औपचारिक सुरुवातका रूपमा लिइने गरिन्छ ।

लिङ्गो ठड्याउने अवसरमा मन्दिर परिसरमा विशेष पूजापाठ गरिएको थियो भने स्थानीय बासिन्दादेखि भक्तजनसम्मको बाक्लो उपस्थिति रहेको थियो । धार्मिक महत्वसँगै यस दिनलाई सामुदायिक मेलमिलाप र सांस्कृतिक एकताको पर्वका रूपमा पनि लिइने गरिएको छ ।

चन्दननाथ–भैरवनाथ मन्दिर जुम्लाको मात्र नभई कर्णाली प्रदेशकै प्रमुख आस्थाको केन्द्र मानिन्छ । प्रत्येक वर्षको दशैँमा यहाँ हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।