काठमाडौं, ७ असोज, जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक परिस्थितिले नेपाली कांग्रेसलाई ठूलो परीक्षाको घडीमा उभ्याएको छ। देशकै सबैभन्दा ठूलो दल कांग्रेसभित्र अहिले नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएको छ।

८० वर्ष पुगेका सभापति शेरबहादुर देउवालाई बिदा गरेर नयाँ नेतृत्व छनोट गर्नुपर्ने आवाज महाधिवेशन प्रतिनिधिहरूमध्ये ठूलो संख्याबाट उठ्न थालेको छ। प्रतिनिधिहरूले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विधानअनुसार विशेष महाधिवेशन आह्वानको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएका छन्।

महाधिवेशन प्रतिनिधिहरूले भदौ २३–२४ गतेको आन्दोलनमाथि भएको सरकारी दमनको घोर विरोध गरेका छन्। वक्तव्यमा सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन र शीतलनिवासलगायतका संरचनामा भएको तोडफोड र आगजनीलाई आन्दोलनलाई बदनाम गराउने तत्वहरूको षड्यन्त्रको संज्ञा दिइएको छ। त्यस्ता घटनामा संलग्न व्यक्तिहरूलाई कठोर कारबाही गर्नुपर्ने माग पनि गरिएको छ।

साथै, कांग्रेस सभापति देउवा र उनको परिवारमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइएको छ।

नेताहरूले देशमा बढ्दै गएको भ्रष्टाचार, कुशासन र असन्तोषका लागि विगतका कांग्रेसका नीति र निर्णयहरू पनि जिम्मेवार रहेको स्वीकार गर्दै आत्मसमीक्षाको आवश्यकता औंल्याएका छन्।
“आजको संकट हाम्रो आफ्नै कमजोरीको परिणाम त होइन?” भन्दै उनीहरूले प्रश्न उठाएका छन्।

पार्टी विधानको धारा १७(२) अनुसार महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनमा जाने वैधानिक अधिकार प्रयोग गर्ने निर्णयसमेत सार्वजनिक गरेका छन्।
“केन्द्रीय समिति नै यो जिम्मेवारी वहन गर्न असमर्थ देखिएको अवस्थामा हामी प्रतिनिधिहरू स्वयं अघि बढ्छौं,” वक्तव्यमा भनिएको छ।

विशेष महाधिवेशनको माग गर्दै वक्तव्य निकाल्ने नेताहरूमा गुरुराज घिमिरे, जनकराज गिरी, रामपल्टन साह, सुरज काप्ले, मेदनी सिटौला, प्रविण ओझा, दिक्पाल शाही, युवराज पाण्डे, टीका गुरुङ, कृष्ण रिजाल, ऋषिकेश तिवारी, युवराज भट्टराई, बीरबहादुर राना, सुरेन्द्रराज आचार्य, मुकेश घिमिरे, देवराज चालिसे, तारानाथ दाहाल, विनोद खनाल, रुद्र कन्दङ्वा, कुमार लुइँटेललगायत महाधिवेशन प्रतिनिधिहरू छन्।

कांग्रेसभित्रको असन्तोष अहिले निर्णायक चरणमा पुगेको देखिन्छ। नेतृत्व फेर्ने माग र विशेष महाधिवेशनको तयारीसँगै पार्टीले निकट भविष्यमा ठूलो राजनीतिक मोड लिन सक्ने संकेत देखिएको छ।