च्याउको बीउ उत्पादनमा झापाका कृषकले क्रान्तिकारी पहल, वार्षिक डेढ करोड आम्दानी
२०८२ आश्विन ७, मंगलवार २०:२४
विर्तामोड, असोज ७ – झापाको विर्तामोड–३ का रामबहादुर खत्रीले स्वदेशमै च्याउको बीउ उत्पादन गरेर कृषिक्षेत्रमा नयाँ अध्याय लेखेका छन्। उनले स्थापना गरेको पाथिभरा च्याउ तथा बीउ उद्योगले कोशी प्रदेशमै पहिलोपटक टिस्युकल्चर प्रविधिबाट बीउ उत्पादन गर्दै आएको छ।
१४ वर्षअघि सुरु गरिएको यो उद्योगले अहिले वार्षिक ४५ हजार किलोभन्दा बढी च्याउ बीउ उत्पादन गर्दै आएको छ। यसबाट खत्री परिवारले वर्षमा करिब डेढ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको छ।
उद्योगमा खत्री परिवारका तीन सदस्यसहित सात जना पूर्णकालीनरूपमा कार्यरत छन्। उनका अनुसार दैनिक १५० किलो गहुँबाट १,५०० प्याकेट च्याउ बीउ तयार हुन्छ, जसलाई बजारमा प्रति प्याकेट रु. ३५ मा बिक्री गरिन्छ।
खत्रीले भने, “रोग प्रतिरोधी र गुणस्तरीय च्याउ उत्पादन गर्न हामीले टिस्युकल्चर प्रविधि प्रयोग गरेका छौँ। यसले किसानलाई विश्वासिलो बीउ उपलब्ध गराउने मात्र होइन, स्वदेशी उत्पादनमार्फत विदेशी निर्भरता घटाउन पनि सहयोग पुर्याएको छ।”
भारतको उत्तरप्रदेश र विहारमा तालिम लिएर उनले प्रदेशमै पहिलोपटक आधुनिक प्रयोगशाला स्थापना गरेका हुन्। प्रयोगशालामा गहुँ, मकै र जुनेलोका दानामा बीउ उत्पादन गरिन्छ भने आवश्यक रासायनिक तत्व भारतबाट आयात गरिन्छ।
हाल खत्रीको पहलपछि झापामै यस्तै १३ वटा उद्योग थप स्थापना भइसकेका छन्। उनका बीउहरू झापाबाहेक इलाम, मोरङ, ताप्लेजुङ, सङ्खुवासभा, सिराहा, सप्तरी र रुपन्देहीसम्म आपूर्ति हुँदै आएका छन्।
च्याउखेतीमा एकपटक गरिएको लगानीले लामो समयसम्म उत्पादन दिने, श्रम कम लाग्ने र सहज प्रविधिमा आधारित हुने भएकाले किसानको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।
रामबहादुर खत्रीको यो प्रयासले देखाएको छ—कृषिक्षेत्रमै नवप्रवर्तन र उद्यमशीलताबाट स्वदेशमै उल्लेखनीय सफलता हासिल गर्न सकिन्छ।




