काठमाडौं असाेज ७,गत शुक्रबार राति बालुवाटारस्थित झ्वाइँ थकाली रेष्टुरेन्टमा जेनजी अभियन्ताहरूको ठूलो जमघट भयो । बाहिरबाट रणनीतिक छलफल भन्दै करिब डेढ सय युवालाई बोलाइएको उक्त भेलामा अन्ततः सुदन गुरुङलाई जेनजी संयोजक घोषणा गर्दै प्रदेशस्तरीय नेतृत्व तोकिएको छ ।

चार घण्टा लामो छलफलपछि कोशीमा उपार्जुन चाम्लिङ, मधेशमा शिव यादव, बाग्मतीमा किरण केसी, गण्डकीमा प्रदीप पाण्डे, लुम्बिनीमा आदित्य आचार्य, कर्णालीमा सुप्रिया राज्यलक्ष्मी शाही र सुदूरपश्चिममा खेमराज साउदलाई संयोजक तोकिएको घोषणा गरिएको हो ।

उक्त भेलामा सहभागी केही सदस्यका अनुसार सुरुमा ‘आगामी रणनीति बनाउन छलफल’ भनेर बोलाइए पनि, वास्तविक उद्देश्य भने प्रदेश कमिटी गठन रहेको देखियो । आलोचक स्वर भएका अभियन्ताहरू—रक्षा बम, युजन राजभण्डारी, तनुजा पाण्डेसहितलाई बैठकमा नबोलाइएको आरोप पनि छ ।

स्रोतका अनुसार, हस्ताक्षरका लागि पहिल्यै खाका तयार थियो । विरोध भएपछि भाषा परिमार्जन गरी ‘निर्णय भयो’ भन्ने शब्द हटाएर ‘उपस्थिति रह्यो’ मात्र राखिएको बताइन्छ 

२३ भदौमा माइतीघरको पहिलो दिनको आन्दोलनमा स्वयंसेवकका रूपमा देखिएका सुदन गुरुङ क्रमशः आन्दोलन संयोजक र मुख्य वार्ताकारको भूमिकासम्म पुगेका छन् । केही दिनअघि उनले सामाजिक सञ्जालमार्फत जेनजी नेतृत्वलाई डिस्कोर्डबाट मतदानमार्फत चयन गर्ने घोषणा गरेका थिए । तर, हाल आफैं संयोजक बनेपछि उनीमाथि आलोचना चुलिएको छ ।

गत शुक्रबार मात्र राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा समेत उनी जेनजी प्रतिनिधि झैं उपस्थित भएपछि प्रश्नहरू बढेका छन् ।

भेलामा सहभागी एक अभियन्ताले भने,
“यो कुनै राजनीतिक संस्कृतिको अभ्यास नभई ग्याङ जस्तो समूह बनाउन खोजेजस्तो देखियो । यसरी बलमिच्याइँ गरेर गरिएको नेतृत्व बाँडफाँट अस्वीकार्य छ ।”

सुदन गुरुङ सम्पर्कमा आउन चाहेनन् । तर, शनिबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत उनले पुराना नेताहरूले शिर नउठाउन् भन्ने हेतुले मात्र आफू शीतलनिवासको कार्यक्रममा गएको बताएका छन् ।

यसरी, सुदन गुरुङलाई संयोजक बनाएर प्रदेशस्तरमा नेतृत्व तोकिएको निर्णयले जेनजी आन्दोलनभित्रै असन्तोष र विवाद चर्काएको देखिन्छ ।