विरगंज असाेज ९, नवरात्रको अवसरमा तराई–मधेशको विशेष लोक पर्व झिझिया सुरु भएको छ। जिल्लाका १६ पालिकाका हिन्दू धर्मावलम्बी महिलाहरुले सामूहिक रूपमा झिझिया पर्व मनाइरहेका छन्।

कलैया उपमहानगरपालिका–११की यसाेदा देवीका अनुसार, खईबे त खोई, डईनी कोतरा, मझरिया, ना खईबे कोतरा चिबईए अपन भतरा लगायतका पारम्परिक झिझिया गीत गाउँदै किशोरी तथा महिलाहरुले पर्व धुमधामसँग मनाइरहेका छन्।

घटस्थापना सोमबार रातिदेखि विधिवत सुरु भएको यो पर्व नौरथाभरि जारी रहन्छ। ग्रामिण क्षेत्रमा किशोरीहरुको सहभागिता विशेष गरी बढी हुन्छ। प्रत्येक टोल–टोलले समूह बनाएर गाउने–नाच्ने गर्छन् र कतिपय स्थानमा समूहबीच प्रतिस्पर्धा पनि हुने गर्दछ।

पर्वको क्रममा किशोरीहरु माटोको गाग्रो (घैला) मा छिद्रा बनाउँदै, भित्रको दियो बालेर टाउकोमा बोकेर गाउँघरमा घुमाउँछन्। यसरी नाच–गान गर्दा बोक्सी र दुष्ट आत्माबाट सुरक्षा मिल्ने जनविश्वास रहेको छ।

गाग्रोमा तेल हालेर सहयोग गर्ने, नगद, दक्षिणा र अन्नपात दिने चलन रहेको छ। किशोरीहरुले गाग्रो नचाउँदै घुमाउँदा कुनै प्रकोप नपरोस् भन्ने बुढापाखाहरुको भनाई छ। कतिपय युवाहरुले मनोरञ्जनका लागि गाग्रो फोड्ने प्रयास गर्दा पनि किशोरीहरुले गीत गाएर विरोध गर्ने गर्छन्।

झिझिया पर्व नौरथाभरि चलेपछि, विजया दशमीको रात गाग्रो जलाशयमा फ्याँक्ने र त्यसपछि जम्मा भएको दक्षिणा, अन्नपातले मिठाई, फलफुल किनेर बाँडेर रमाइलो गर्ने चलन छ।

भोजपुरी भाषा साहित्य विज्ञहरूले भने, “यस्ता परम्परागत र लोपोन्मुख पर्वको संरक्षणका लागि सम्बद्ध निकायले विशेष पहल गर्नु आवश्यक छ।”