गुल्मी, असोज १० – गुल्मीमा विभिन्न जातका कफीबीच तुलना गरेर उत्कृष्ट प्रजाति छनोट गर्ने काम सुरु भएको छ। रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित कफी अनुसन्धान कार्यक्रमअन्तर्गत ३८ प्रकारका कफीको प्राङ्गारिक प्रविधिद्वारा जातीय परीक्षण भइरहेको छ।

कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमका अनुसार करिब २०० रोपनी क्षेत्रमा परीक्षण भइरहेको छ। उनले तीनवटा प्रजाति सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्ताव तयार गरी पठाइसकिएको जानकारी दिए। यसबाहेक अन्य जातीय विशेषता, रोग–किरा नियन्त्रण तथा व्यवस्थापनबारे पनि अनुसन्धान जारी रहेको उनले बताए।

गौतमका अनुसार अनुसन्धानमा माउबोटको छनोटदेखि हाँगा, बीउ, माटो र उत्पादन गुणस्तरसम्म विस्तृत अध्ययन भइरहेको छ। तर दक्ष जनशक्तिको कमीले अनुसन्धान अझ सुदृढ बनाउन कठिनाइ भएको उल्लेख उनले गरे।

हाल कार्यक्रममार्फत वार्षिक १० हजारभन्दा बढी कफीका बीउ बेर्ना उत्पादन भइरहेको छ। त्यस्तै, १०० किलोसम्म स्रोत बीउ उत्पादन गरी किसानलाई वितरण गरिँदै आएको गौतमले जानकारी दिए।

 गुल्मीलाई नेपालको प्रमुख कफी क्षेत्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित परीक्षण अघि बढाइएको अनुसन्धान टोलीको भनाइ छ।