एमसीसी प्रसारण लाइन : ३१५ किमि सबै ठेक्का सम्झौता सम्पन्न
२०८२ आश्विन ११, शनिबार १९:२५
काठमाडौं, असोज ११, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल)ले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण हुने ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै ठेक्का सम्झौता सम्पन्न गरेको छ।
अन्तिम चरणमा काठमाडौँ–नुवाकोट–मकवानपुर खण्डको ११७ किमि प्रसारण लाइन निर्माणको जिम्मेवारी आशिश–बोज्लर जेभीले लिएको छ। सो सम्झौताको लागत करिब ७६६.५० लाख अमेरिकी डलर रहेको छ।
सम्झौताअनुसार ४०० केभी क्षमताको प्रसारण लाइन डिजाइन, स्थापना, परीक्षण र सञ्चालनसम्मका सम्पूर्ण काम हुनेछन्।
यसअघि अन्य खण्डका ठेक्का सम्झौता भइसकेको र यो अन्तिम सम्झौतासँगै सम्पूर्ण ३१५ किमि प्रसारण लाइन निर्माण प्रक्रिया ठेक्का स्तरमा पूरा भएको एमसिए–नेपालले जनाएको छ।
एमसिए–नेपालका कार्यकारी निर्देशक विनोद विष्टले परियोजना कार्यान्वयनमा उल्लेख्य प्रगति भएको बताउँदै भने, “अब कार्यान्वयनमा तीव्रता आउनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीलाई बलियो बनाउनेछ।”
यो प्रसारण लाइन लप्सिफेदी, रातमाटे र नयाँ हेटौँडा सबस्टेशनसँग जोडिनेछ, जसलाई एमसीसी कम्प्याक्टको मुख्य आधारभूत पूर्वाधार मानिएको छ।




