ओली–लेखकसहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने आयोगको आदेश
२०८२ आश्विन १२, आईतवार १९:२७ओली र लेखकसहित पाँच जनालाई उपत्यका छोड्न रोक

काठमाडौं – जेन–जी आन्दोलन (भदौ २३ र २४) का घटनामा मानवीय क्षति भएको आरोपमा बनेको जाँचबुझ आयोगले तत्कालीन शीर्ष नेतृत्वलाई छानबिनमा तान्ने निर्णय गरेको छ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र तत्कालीन काठमाडौं प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई आयोगले विदेश जान नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगले आइतबार बसेको बैठकपछि पाँचै जनाको राहदानी रोक्का गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। आयोगका अनुसार उनीहरूलाई कुनै पनि समयमा बयानका लागि उपस्थित हुनुपर्ने भएकाले स्वीकृतिबिना उपत्यका छाड्न समेत नपाउने व्यवस्था गर्न भनिएको छ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ – “उनीहरू अनुसन्धानका लागि आवश्यक परे तत्काल हाजिर हुनुपर्ने भएकाले विदेश भ्रमणमा रोक लगाउनुपर्छ भन्ने देखिएको छ।”
यससँगै, दशकमै सबैभन्दा ठूलो युवापुस्ताको आन्दोलन मानिएको जेन–जी आन्दोलनका क्रममा निर्णय गर्ने तहमा रहेका पदाधिकारीहरूमाथि अब औपचारिक छानबिनको प्रक्रिया सुरु हुने संकेत स्पष्ट भएको छ।





