ईटहरी असाेज १३, इटहरीस्थित सवारी परीक्षण कार्यालयमा चलिरहेको अनियमितता उजागर भएपछि कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीमुक्त गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार मेकानिकल इन्जिनियर रोशन कुमार देव (कार्यालय प्रमुख) र लेखापाल चन्द्रबहादुर बस्नेतलाई मन्त्रालयमै तानेर हटाएको हो। सेवाग्राहीसँग घुस असुल्ने, मोलमोलाहिजा गर्ने र अनावश्यक हैरानी दिने गरेको गुनासो मन्त्रालयमा पुगेपछि उनीहरूलाई कारबाही गरिएको हो।

स्रोतका अनुसार देव र बस्नेतको मिलेमतोमा राजश्व हिनामिना भएको आशंका गरिएको छ। सेवाग्राहीहरूले प्रस्तुत गरेका प्रमाणसहितका उजुरी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङसम्म पुगेपछि तत्काल निर्णय लिइएको हो।

सवारी परीक्षण कार्यालयमार्फत अन्तरप्रादेशिक सार्वजनिक यातायातलाई मार्ग इजाजतपत्र दिने, प्रदूषण परीक्षण गर्ने, जाँचपास र स्तर कायम गर्नेजस्ता काम हुने गर्छ। तर यिनै सेवामा अनियमितता र भ्रष्ट्राचार भएको आरोप ती दुवै अधिकारीमाथि लागेको छ।

मन्त्री घिसिङले घटनाबारे छानबिनका लागि प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।