काठमाडौं  असाेज १४, नवरात्रिको आठौँ दिन मंगलबार देशभर महागौरी शक्तिको पूजा–आराधना विशेष रुपमा सम्पन्न भइरहेको छ। देवीको रूप शास्त्रमा पूर्णतया गौरवर्ण अर्थात् उज्यालो वर्णको रूपमा उल्लेख छ। उहाँलाई शंख, चन्द्रमा र कुमुद फूलसँग तुलना गरिएको पाइन्छ।

धार्मिक विश्वासअनुसार महागौरीलाई अष्टवर्षा अर्थात् आठ वर्षकी बालिकाको स्वरूपमा मानिन्छ। सेतो गहना र सेतो वस्त्रमा सुसज्जित भएकी कारण उहाँलाई श्वेताम्बरधरा भनिन्छ। वृषभमा आरोहण गर्ने भएकाले वृषारूढा नामले समेत चिनिन्छ। चार हात भएकी देवीको दाहिने माथिल्लो हात अभयमुद्रामा, तलको हातमा त्रिशूल, बाँया माथिल्लो हातमा डमरु र तलको हात वरमुद्रामा रहेको वर्णन पाइन्छ।

पुराणीय कथाअनुसार पार्वतीले भगवान् शिवलाई पति स्वरूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभयो। वर्षौँसम्मको तपस्याका कारण उहाँको शरीर पूर्ण रूपमा काली भएको थियो। तपस्या देखेर प्रसन्न भएका भगवान् शिवले गंगाजलद्वारा उहाँलाई स्नान गराए। गंगाजलको प्रभावले पार्वतीको काला शरीर गौरवर्ण, उज्यालो र कांतिमय बन्यो। यही स्वरूप महागौरीका रूपमा प्रकट भएको मानिन्छ।

अर्को कथा अनुसार, जब पार्वतीले हिमालय पर्वतमा कठोर तपस्या गर्दै थिए, त्यतिबेला ऋषि–मुनीहरूले उहाँलाई धैर्य र संयमको प्रतिमूर्ति भनेका थिए। तपस्याको बलले शिवलाई प्रसन्न पारेर विवाह सम्पन्न भएको प्रसंग पनि जोडिन्छ।

धार्मिक विज्ञहरूको भनाइअनुसार महागौरी अमोघ फलदायिनी मानिन्छिन्। उहाँको पूजा–आराधना गर्नेले विगतका पाप–कल्मष धुने विश्वास गरिन्छ। पूर्वसंचित पाप नष्ट भई जीवनमा शान्ति, सम्पन्नता र कल्याण प्राप्त हुने धारणा रहेको छ।

यस दिन भक्तजनले व्रत, भक्ति र आराधना गर्दै महागौरीको कृपा प्राप्त गर्न विभिन्न पूजापाठ गर्ने गर्छन्। देशका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।