ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
२०८२ आश्विन १४, मंगलवार ११:५०
काठमाडौं असाेज १४, आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरेसम्म देश बन्न नसक्ने बताएका छन्।
रौतहटको चन्द्रपुर नगरपालिकाको चेतनगर बजारमा आयोजित शुभकामना कार्यक्रममा सोमबार बोल्दै अध्यक्ष साहले सिण्डिकेटधारी दल र तिनका नाइकेहरूको छायाँमा देश फसेको आरोप लगाए।
“सिंहदरबार, रामशाहपथ, बहादुरभवनलगायतमा अझै पनि तीन दलको विषादी छाएको छ। जबसम्म उनीहरूलाई राजनीतिबाट विदाइ गरिँदैन, देश र जनताको भलाई सम्भव छैन,” उनले भने।
देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै साहले सबै देशभक्त नेपालीलाई चनाखो बन्न आह्वान गरे। उनका अनुसार पुराना दलका नेतृत्वबाट मुलुकलाई अघि बढाउने आशा अब गर्न सकिँदैन, त्यसैले नयाँ सोच र नेतृत्वको विकल्प अपरिहार्य बनेको छ।




