शक्तिपीठहरूमा महिला भक्तजनको घुइँचो, राजदेवी र विराटनगर काली मन्दिरमा विशेष भीड
२०८२ आश्विन १४, मंगलवार २०:१४
विराटनगर/जनकपुरधाम असाेज १४ , बडा दशैंको सप्तमी र महाअष्टमीको अवसरमा मधेशका शक्तिपीठहरूमा महिला भक्तजनको घुइँचो लागेको छ। महिलाहरू परम्पराअनुसार दुर्गा भवानीको कृपा पाउन ‘खोइछ’ भर्ने र लड्डु चढाउने कार्यमा सरिक भएका छन्।
जनकपुरधामस्थित राजदेवी मन्दिरमा मध्यरातिदेखि नै हजारौं महिला लामवद्ध भएर पुगेका थिए। उनीहरूले घरपरिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै खोइछ भरेका हुन्। मन्दिर परिसरमा बाजागाजा, शंखध्वनि र मन्त्रोच्चारणसँगै वातावरण उल्लासमय बनेको थियो।
यस्तै, विराटनगरको ऐतिहासिक काली मन्दिरमा पनि बिहानैदेखि महिलाहरूको भीड देखियो। परम्परागत पहिरनमा सजिएका भक्तजनहरूले देवीलाई प्रसादस्वरूप लड्डु, अबिर र फूल चढाएका छन्।
सप्तरीको कंकालिनी, सिरहाको क्षिरेश्वरनाथ र महोत्तरीको गढी मन्दिरमा समेत समान भीड देखिएको छ। स्थानीय सुरक्षाकर्मीले व्यवस्था मिलाए पनि भक्तजनको भीड नियन्त्रणमा कठिनाइ भएको बताइएको छ।
धार्मिक परम्परा अनुसार सप्तमी र महाअष्टमीमा खोइछ भर्ने महिलाहरूलाई ‘भवानीको आशिष’ प्राप्त हुने विश्वास गरिन्छ।




