मुस्ताङ, असोज १५ – नेपाल–चीनको उत्तरी सीमा नाकामा रहेको कोरला नाका हुँदै भित्रिने सामानबाट मुस्ताङ भन्सार कार्यालयले अभूतपूर्व राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयका अनुसार पूर्णरूपमा सञ्चालनमा आएको दुई सातामै यहाँबाट करिब रु २ अर्ब २ करोड ९६ लाख राजस्व संकलन भएको हो। यो कार्यालय स्थापनापछि अहिलेसम्मकै उच्च संकलन भएको जनाइएको छ।

दैनिक औसत रु १३ करोड ६६ लाख राजस्व उठिरहेको कार्यालयले जनाएको छ। यसअघि भने यहाँको राजस्व संकलन सीमापारका स्थानीय बासिन्दाले ल्याउने सानो परिमाणका घरायसी सामग्रीमै सीमित थियो। त्यतिबेला वार्षिक रूपमा जम्मा १० देखि १५ लाखसम्म मात्र राजस्व उठ्ने गरेको थियो।

भन्सार कार्यालय सञ्चालनमा आएपछि पहिलोपटक यति ठूलो परिमाणमा व्यापारिक सामान आयात भएको र त्यसअनुसार राजस्व संकलन पनि बढेको अधिकारीहरूले बताएका छन्।

यो उपलब्धिलाई स्थानीय व्यवसायी र प्रशासनले उत्तरी नाकाबाट हुने व्यापार विस्तारको संकेतका रूपमा लिएका छन्।