विराटनगर असाेज १५, बडादसैँको महानवमीका दिन देशभर घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ 

आजको दिनलाई नवरात्रि पर्वको अन्तिम दिनका रूपमा मनाइँदै आएको छ । घटस्थापनादेखि लगातार नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनको अवसरमा गच्छेअनुसार पाँच, सात वा नौजना कुमारी बालिकालाई निम्त्याएर पूजन गर्ने परम्परा रहिआएको छ ।

कन्यालाई देवी स्वरूप मानी उनीहरूको खुट्टा धोइ, टाउकोमा चुनरी हालेर, जीउमा फूल–प्रसाद चढाई पूजन गर्ने र पूजा सकेपछि हलुवा, पुरी, चना आदिको विशेष भोजन गराइने परम्परा छ । भोजनपछि कन्याको आशीर्वाद लिँदै दक्षिणा अर्पण गरेर बिदाइ गर्ने गरिन्छ ।

संस्कृतिविद्हरूका अनुसार कन्यापूजनलाई माता वैष्णवीको प्रत्यक्ष स्वरूपको पूजा मानिन्छ । यस दिन कन्या पूजाले सुख, शान्ति र समृद्धि प्राप्त हुने, वर्षभरि मातादुर्गाको कृपा रहने जनविश्वास छ ।

यसैले आज राजधानीदेखि गाउँघरसम्मको घर–घरमा, टोल–छिमेकमा कन्यापूजन, कन्याभोजन र आशीर्वाद ग्रहण गर्ने चलन चलेको छ । धार्मिक परम्परा र आस्थासँग जोडिएको यो प्रथा बडादसैँलाई अझ धुमधाम र भक्तिभावसहित मनाउने मुख्य आधार मानिन्छ ।