वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको रिपब्लिकन र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति जुट्न नसकेपछि मंगलबार मध्यरातदेखि अमेरिकाको संघीय सरकार आंशिक रूपमा बन्द (सटडाउन) भएको छ।

बजेट पारित नहुँदा संघीय निकायका सयौं हजार कर्मचारीलाई बेतलबी बिदामा पठाउने तयारी भइरहेको छ भने सार्वजनिक सेवामा पनि कटौती हुने अनुमान गरिएको छ।

दक्षिणपन्थी रिपब्लिकन पार्टी सानो सरकारको पक्षमा उभिँदै आएको छ भने डेमोक्र्याटहरूले सरकारको भूमिकालाई अझ व्यापक बनाउनुपर्ने तर्क गर्दै आएका छन्।

 रिपब्लिकनले बजेट पास नभए दरबन्दी कटौती गर्ने चेतावनी दिँदै आएको थियो। यस कारण सटडाउनको असर दीर्घकालीन हुने चेतावनी द वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ।

अमेरिकामा आर्थिक वर्ष अक्टोबर १ बाट सुरु हुन्छ र त्यसअघि बजेट पारित गर्नुपर्ने व्यवस्था छ। यद्यपि, बजेटसम्बन्धी केही विधेयकमा ‘फिलिबस्टर’ प्रक्रिया लागू हुने भएकाले सिनेटमा ६० मत आवश्यक पर्छ। मंगलबार भएको मतदानमा रिपब्लिकनको प्रस्तावले ५५ मत मात्र पाएपछि सम्झौता असफल भएको हो।

हाल प्रतिनिधि सभा र सिनेट दुवैमा रिपब्लिकनको बहुमत छ, तर विपक्षी डेमोक्र्याटहरूको सहयोग बिना बजेट पारित गर्न नसकिने देखिएको छ।