विजयादशमी विशेष — टीकाको उत्तम साइत आज ११:५३ बजे
२०८२ आश्विन १६, बिहीबार ०९:५२
काठमाडौं असाेज १६, नेपालीहरूको महान पर्व बडादशैंको मुख्य दिन आज विजयादशमी धूमधामका साथ मनाइँदैछ। घर–घरमा मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर आशीर्वाद लिने परम्परा अनुसार आजको दिन विशेष मानिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहनेछ। समितिले सुझाएको विधिअनुसार टीका ग्रहण गर्नेले पूर्वतर्फ अनुहार फर्काउनुपर्नेछ भने टीका लगाइदिनेले पश्चिमतर्फ फर्कनु उचित मानिन्छ।
घटस्थापनाको दिनदेखि विधिपूर्वक स्थापना गरिएको कलशबाट अभिषेक गरी टीका–जमरा वितरण गरिने परम्परा छ। ज्योतिषविद्हरूका अनुसार साइतमा लगाइने टीका र जमरा ग्रहण गर्दा आयु, आरोग्य र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।
देशभरका सहरदेखि गाउँसम्म आज बिहानैदेखि नै आस्थावान भक्तजनहरू मान्यजनको आशीर्वाद लिन व्यस्त देखिएका छन्।




