काठमाडौं असाेज १७, दशैं, तिहार र छठजस्ता चाडपर्वमा हवाई यात्रामा हुने अत्यधिक चापलाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानका लागि अधिकतम भाडादर सार्वजनिक गरेको छ।

हवाई टिकट सहजै उपलब्ध नभई मनपरी मूल्यमा बिक्री हुन सक्ने सम्भावना देखिएकाले यात्रु हितमा प्राधिकरणले स्पष्ट सूची जारी गरेको हो। नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम असुल्न वायु सेवा प्रदायकलाई सक्ति पूर्वक निषेध गरिएको छ। तोकिएको भन्दा बढी शुल्क लिने कंपनीमाथि कारबाही गरिने चेतावनी पनि दिइएको छ।

प्राधिकरणले असोज १६ गते दशैंको टीकाको दिन सार्वजनिक गरेको सूचीअनुसार, काठमाडौं–धनगढी मार्गको भाडा सबैभन्दा महँगो १७ हजार ५७९ रुपैयाँ तोकिएको छ भने काठमाडौं–सिमरा मार्ग सबैभन्दा सस्तो ३ हजार ९७८ रुपैयाँमा पर्छ।

अन्य गन्तव्यका अधिकतम भाडादर यस प्रकार छन् :

काठमाडौं–विराटनगर : ९ हजार ७८५ रुपैयाँ

काठमाडौं–भरतपुर : ४ हजार ६४३ रुपैयाँ

काठमाडौं–भद्रपुर : १२ हजार ११२ रुपैयाँ

काठमाडौं–जनकपुर : ५ हजार ४७० रुपैयाँ

काठमाडौं–पोखरा : ६ हजार ६३५ रुपैयाँ

काठमाडौं–नेपालगञ्ज : १३ हजार १०३ रुपैयाँ

काठमाडौं–भैरहवा : ८ हजार ४६१ रुपैयाँ

काठमाडौं–राजविराज : ८ हजार २१० रुपैयाँ

काठमाडौं–सुर्खेत : ९ हजार ३० रुपैयाँ

काठमाडौं–तुम्लिङटार : ७ हजार ६३० रुपैयाँ

यात्रुहरूले तोकिएको भन्दा बढी रकम तिर्न नपर्ने र मनपरी भाडा लिन खोज्ने कम्पनी कारबाहीको दायरामा आउने प्राधिकरणको चेतावनीपछि, चाडपर्वमा हवाई यात्रा गर्नेहरू केही हदसम्म राहत पाउने देखिएको छ।