काठमाडौं, १७ असोज , मौसमी प्रतिकूलताले बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले राति काठमाडौं प्रवेश वा निर्गमन नगर्न सर्वसाधारणलाई चेतावनी दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीद्वारा जारी सूचनामा काठमाडौं बाहिर जाने वा बाहिरबाट भित्रिने यात्रुलाई रातको समयमा यात्रा नगर्न स्पष्ट आग्रह गरिएको छ। प्रशासनको भनाइअनुसार अनावश्यक आवतजावत रोक्दा सम्भावित दुर्घटना वा विपद्‌का असरलाई कम गर्न मद्दत पुग्नेछ।

त्यसैगरी, आपत्कालीन अवस्थामा उद्धार, सहयोग वा राहत आवश्यक परेमा काठमाडौं जिल्ला प्रहरी परिसरका उपलब्ध सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ।

प्रशासनले “सुरक्षा नै प्राथमिकता” भन्दै नागरिकलाई सतर्क रहन र केवल अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न अनुरोध गरेको छ।