लगातार भारी वर्षा सम्भावनाबीच काठमाडौं भित्रिने–निस्किने लामो दूरीका यातायात तीन दिनका लागि बन्द
२०८२ आश्विन १८, शनिबार ११:२७
काठमाडौं, १८ असोज , राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि काठमाडौं भित्रिने र बाहिरिने सबै प्रकारका लामो दूरीका यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म देशका विभिन्न भागमा लगातार भारी वर्षा हुने सम्भावना जनाएको हुँदा यो निर्णय गरिएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ
यस क्रममा काठमाडौं–तराई, काठमाडौं–पोखरा, काठमाडौं–पूर्व र पश्चिमका सबै राजमार्गमार्फत सञ्चालन हुने यात्रुवाहक बस तथा माइक्रोबसहरू बन्द रहनेछन् ।
प्राधिकरणले नागरिकहरूलाई अत्यावश्यक बाहेकका यात्रामा ननिस्कन आग्रह गरेको छ भने प्रदेश र स्थानीय निकायलाई सम्भावित बाढी, पहिरो तथा सडक अवरोधको जोखिम व्यवस्थापनमा सतर्क रहन निर्देशन दिएको छ ।




