काभ्रेको रोशीले फेरि बगायो बीपी राजमार्ग नौ स्थानमा सम्पर्क विच्छेद
२०८२ आश्विन १८, शनिबार २१:०२
काभ्रेपलाञ्चोक असाेज १८, अबिरल वर्षाले काभ्रेको बीपी राजमार्ग फेरि असुरक्षित बनेको छ । गत असोजमा बगेका सडकका अस्थायी डाइभर्सनहरू फेरि बाढीले बगाएपछि रोशी खोला आसपासका क्षेत्रका बासिन्दा र यात्रुहरू समस्यामा परेका छन् ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोला र त्यसका सहायक खोलाहरूले राजमार्गका ९ भन्दा बढी स्थानमा कटान गरेका छन् ।
उनका अनुसार रोशी–नमोबुद्ध सिमानाको चौकीडाँडा, घुमाउने, चारसयबेशी मुनीको भाग, गिम्दीबेशी–स्याउलेबजार माथिल्लो भाग, नार्के–बोक्सीकुना, डालाबेशी, बुलढुंगा, पिप्ले, र माम्ती क्षेत्रमा सडक सम्पूर्ण रूपमा बगिसकेको छ ।
“पिप्ले र बोक्सीकुनामा त पैदल हिँड्ने बाटो पनि बाँकी छैन,” कार्कीले भने, “रोशी खोलाको बहाव बढ्दै गएकाले जोखिम अझै उच्च छ।”
यससँगै रोशी–१२ माम्तीमा पहिरो, कालढुंगा चार्जिङ स्टेशन नजिक लेदो, विरुवाडाँडामा फेदी खोला र साङ कोलाको लेदो, र पिन्थलीबेशीमा सडक अवरोधका कारण राजमार्गका अन्य भाग पनि बन्द रहेका छन् ।
बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पूर्वका जिल्लाबीचको यातायात सम्पर्क पुनः विच्छेद भएको छ । स्थानीय प्रशासनले यात्रुहरूलाई अत्यावश्यक नपरी सडक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।




