कोशी ब्यारेजका ५० ढोका खोलिए
२०८२ आश्विन १९, आईतवार ११:०६
सुनसरी असाेज १९, अविरल वर्षाका कारण सप्तकोशी नदी उर्लिँदै जाँदा आइतबार बिहान कोशी ब्यारेजका ५६ मध्ये ५० ढोका खोलिएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार बिहान सवा ८ बजे पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार क्युसेक पुगेपछि आपतकालीन रूपमा ढोका बढाइएको हो।
यसअघि बिहान ७ बजे नदीमा २ लाख ७१ हजार ३१० क्युसेक बहाव मापन भएको थियो, जसका आधारमा ३९ ढोका खोलिएको थियो। शनिबार बेलुकी ८ बजे पानीको प्रवाह १ लाख ९३ हजार ६० क्युसेक मात्र रहेकाले त्यतिबेला १५ ढोका मात्रै खुला गरिएको थियो।
गत भदौ १७ गते पनि पानीको बहाव अत्यधिक बढ्दा ब्यारेजका ३८ ढोका खोलिएको स्मरण गराउँदै प्रवक्ता खतिवडाले भने, “शुक्रबारदेखि लगातार वर्षा भएकाले आज फेरि पानीको मात्रा तीव्र रूपमा बढ्दै गएको छ।”
कोशी ब्यारेजमा जब पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघ्छ, त्यसलाई खतराको सूचकका रूपमा रातो बत्ती बाल्ने प्रावधान छ।
हाल कन्ट्रोल रुमले तीनवटा रातो बत्ती जलाएको जनाएको छ, जसले जोखिम अझ बढेको संकेत गर्छ।




